अघिल्लो सम्पादकीयमा मैले वाचा गरेको थिएँ, ती किताबका बारेमा लेख्ने, जसलाई मैले लगभग दुई दशकदेखि सम्झिरहेको छु। घर सरेँ, दराज फेरिए, धेरै किताब कसैलाई दिएँ, कति हराए । तर तीन वटा किताब कहिल्यै टाढा गएनन्: ‘पल्लो घरको झ्याल’, ‘चपाइएका अनुहारहरू’ र ‘अविरल बग्दछ इन्द्रावती’। यी तीन सधैँ मेरो सिरानीमै रहे । यदि पश्चिमा पुस्तकको कुरा गर्ने हो भने: दस स्पेक जराथुस्त्र, बिईन एन्ड नथिगंनेस र बियोण्ड गुड एन्ड ईभिल । यी पुस्तकको बारे पनि कुनै दिन चर्चा गरुँला ।
पहिले राईटिगं नेपालको केही कुरा गरूँ । यो सन् २०१० मा कल्पना गरियो केही वर्ष चलायौँ र पाठक अनि लेखकहरूको साथ नहुँदा केही समयको लागि बन्द पनि गरियो । अहिले फेरि उस्तै जोस र जाँगर सहित फर्किएको छौँ, हेरूँ यो पटक कत्तिको साथ पाइने हो ।
अब कुरा पुस्तकमा फर्काऊ । मेरो लागि पल्लो घरको झ्याल: मनभित्र चियाउने एक मानसिक झ्याल पनि हो । गोविन्दबहादुर मल्ल ‘गोठाले’ को यो उपन्यास वि.सं. २०१६ मा प्रकाशित भयो । आकारमा सानो, तर नेपाली उपन्यासमा यसको महत्त्व ठुलो छ । यसैबाट नेपाली उपन्यासमा मनोवैज्ञानिक लेखनले प्रवेश पायो भनेर समालोचकहरू मान्छन् पनि र मेरो व्यक्तिगत विचार पनि त्यही हो । मैले कयौँ पटक यो पुस्तक दोहोराएको छु ।
कथा मिसरीको हो: विवाहित नारी, अस्थिर दाम्पत्य, र पल्लो घरको झ्यालबाट उसलाई हेरिरहने आँखा । प्रेम पत्र आइपुग्दा मिसरीभित्र जुन द्वन्द्व चल्छ, त्यो त्यो युगको काठमाडौँको मध्यम वर्गीय घरमा बाँधिएका धेरै नारीको कथा हो । गोठालेले घटनाभन्दा बढी मनका तरङ्ग लेखेका छन् जसले मलाई छोएको हो । यदि घटना र प्रेमकै प्रसङ्ग बढी हुन्थ्यो भने यो सामान्य कथा बन्थ्यो ।
मैले यो किताब पहिलो पटक बाको दराजमा भेटेर पढे, मिसरीले मलाई त्यस बेलै देखि सम्झिरहन बाध्य बनाई; जब मिसरिले त्यो केटा को प्रेम पत्र पाई त्यसपछि उसको मन भित्र चल्ने द्वन्द्व म कहिले बिर्सन सक्दिन । ‘मेरो पोइ छ, पोइको घर छ’ सायद यो कथामा यति धेरै चोटि दोहरिन्छ कि कतिपय पाठकलाई झर्को लाग्न पनि सक्छ तर मनोविज्ञानको पाटो यहीँ बाट देखिन्छ ।
अर्को पुस्तक हो चपाइएका अनुहार, जुन हो एक थिचिएको मान्छेको अनुहार । दौलत बिक्रमबिष्टका सबै उपन्यासमध्ये समालोचकहरूले ‘चपाइएका अनुहारहरू’ लाई उनका महत्त्वपूर्ण कृतिमा गनेका छन्। पछि ‘ज्योति ज्योति महाज्योति’ का लागि मदन पुरस्कार पाएका विष्टका उपन्यासमा समाजको विसङ्गति, मान्छेमाथि हुने अमानवीयता र त्यसबिच पनि बाँच्न खोज्ने जिजीविषा बारम्बार आउँछ । मलाई यसले हरेक दिन जसो झकझकाउँछ । उपन्यासको काव्यात्मक शैली नै बलियो छ । एक फौजी सिपाहिंको को यथार्थवादी कथा नै चपाईको अनुहार हो उपन्यासको नाम आफैँमा एउटा बिम्ब हो: समय, समाज र परिस्थितिले चपाएर छोडेका अनुहार ।
अर्को पुस्तक हो अविरल बग्दछ इन्द्रावती: नदीसँगै बग्ने जीवन को उत्कृष्ट कथा । रमेश विकलको यो उपन्यास वि.सं. २०३९ मा प्रकाशित भयो र धेरैले यसलाई उनको उत्कृष्ट कृति मान्छन् । इन्द्रावती किनारका माझी र दनुवार समुदायको जीवन यसको केन्द्रमा छ: जाल हान्ने, दुवाली फर्काउने, माछा मारेर चुल्हो बाल्ने दैनिकी, र साहु–महाजनको थिचोमिचो । भूमा माझी र बेलौती सम्भबत मेरो दिमागमा आई रहने पात्र हुन् । नेपाली आञ्जलिक उपन्यासको परम्परामा यो किताबले एउटा ठाउँ, एउटा समुदाय र एउटा नदीलाई साहित्यमा अमर बनाइदियो । नदी रोकिँदैन, बगिरहन्छ । उपन्यासको नामले भनेजस्तै, निमुखा मान्छेको सङ्घर्ष पनि अविरल बगिरहन्छ । यो लेखिरहँदा पनि सम्पूर्ण कथा मेरो दिमागमा घुम्दै छ र रोमाञ्चले जिउ सिरिगं हुँदै छ ।
यी तिन कृति हुन् जसले मेरो सिरानीमा बस्ने अवसर पाए, किन यिनै तीन त?
एउटाले मान्छेको मनभित्र हेर्न सिकायो, अर्कोले समाजले थिचेका अनुहार देखायो, र तेस्रोले एउटा नदी किनारको जीवनसँग जोड्यो । मन, समाज र माटो: मेरो लागि नेपाली उपन्यासको पूरा संसार यिनै तीनभित्र छ ।
तपाईँको सिरानीमा कुन किताब छ?
Comments (1)
यी तीनै कृतिसँग मेरो आफ्नै आत्मीय सम्बन्ध रहेछ। ‘पल्लो घरको झ्याल’ र ‘चपाइएका अनुहारहरू’ पहिल्यै पढिसकेका किताब हुन्; फेरि हात परे दोहोर्याएर पढ्ने इच्छा सधैँ रहन्छ। ‘अविरल बग्दछ इन्द्रावती’ त झन् मेरा हजुरबुबा रमेश विकलको कृति भएकाले मेरो लागि किताबभन्दा पनि पारिवारिक विरासतसँग जोडिएको प्रिय धरोहर हो, र यो मसँगै छ। अहिले आफू देशभन्दा टाढा भएकाले चाहेर पनि यी किताबहरू फेरि निकालेर पढ्ने अवसर मिलेको छैन। मन, समाज र माटोलाई यी तीन कृतिसँग जोडेर गरिएको यो आत्मीय चर्चा भने निकै मनपर्यो। 🙏