‘मौन कोलाहल’ — मेरो पढाइ अनुभव
लेखक विवेक ओझाले लेख्नुभएको पुस्तकहरूमध्ये मैले पढेको यो दोस्रो पुस्तक हो।
‘मौन कोलाहल’मा जम्मा नौवटा कथा छन्। यी नौवटै कथाले फरक–फरक पात्र, फरक–फरक परिस्थिति र उनीहरूले भोगिरहेको फरक मनोवैज्ञानिक संसारलाई प्रस्तुत गर्छन्।
कसैको मनमा शिक्षक र विद्यार्थीबीचको सम्बन्धले प्रभाव पारेको छ, कसैको कथामा आत्महत्याजस्तो गम्भीर मानसिक अवस्थाको कुरा आउँछ। कतै आमाको मृत्यु भएपछि पशुपति क्षेत्रमा जीवन धानिरहेका दुई युवतीहरूको कथा छ, जसमा उनीहरूले पाएको केही न्यानोपन, राम्रो खाना र कपडाले उनीहरूको जीवन र निर्णयमा पार्ने प्रभाव देखिन्छ।
एउटा कथामा एउटी आमाले आँपको रूखलाई आफ्नै पहिलो सन्तानजस्तै माया गर्छिन्, किनकि आफू गर्भवती हुँदाकै समयमा त्यो रूख पनि उम्रिएको हुन्छ।
अर्को कथामा बच्चाको हेरचाह गर्न राखिएकी एक सहयोगीले आफूले स्याहार गरिरहेको बच्चालाई आफ्नै सन्तानजस्तै माया गर्न थाल्छिन्। तर पछि परिस्थिति यस्तो बन्छ कि उनी बच्चाबाट टाढा हुनुपर्छ, र आफूले यति धेरै माया गरेको बच्चाले पछि उनलाई चिन्नसमेत सक्दैन।
यी कथाहरू पढ्दै जाँदा मलाई निकै रोचक लागेको कुरा चाहिँ मानिसको मनमा प्रभाव पार्ने कुरा सधैँ अर्को मानिस मात्र हुँदैन रहेछ।
कहिलेकाहीँ कुनै सम्बन्धले, कुनै घटनाले, कुनै अभावले, कुनै वस्तुले, कुनै ठाउँले, यहाँसम्म कि हाम्रो आफ्नै कल्पनाले पनि हाम्रो मनमा गहिरो प्रभाव पार्दोरहेछ।
र यही कुराले मलाई पुस्तकको मनोवैज्ञानिक पक्ष सबैभन्दा बढी मन पर्यो।
हामीभित्र कति धेरै कुराहरू हुन्छन् जस्तै पीडा, डर, एक्लोपन, असन्तुष्टि, माया, अभाव, चाहना र दबिएका भावनाहरू। तर ती सबै कुरा हामी शब्दमा व्यक्त गर्न सक्दैनौँ। अनि जब ती कुराहरू लामो समयसम्म मनभित्रै थुनिन्छन्, त्यसको असर हाम्रो व्यवहार, सम्बन्ध, सोच्ने तरिका र कहिलेकाहीँ शरीरमा समेत देखिन थाल्छ।
यी नौ कथामध्ये मलाई सबैभन्दा बढी छोएको कथा भने ‘मुर्दाघर’ हो।
यस कथाको पात्र अस्पतालमा काम गर्छ र मृत शरीरहरू बोक्ने काम गर्छ। उसको बाल्यकालदेखि नै मानवीय न्यानोपनको अभाव थियो। वरिपरि मानिसहरू भए पनि उसले आफूले खोजेको माया र आत्मीयता महसुस गर्न सकेन। त्यसैले उसको मनोविज्ञान यति अनौठो ठाउँमा पुग्छ कि उसलाई जीवित र न्यानो शरीरभन्दा मृत शरीरको चिसोपन नै बढी परिचित र सहज लाग्न थाल्छ।
यो कुरा पढ्दा म धेरै बेर सोचिरहेँ कि
मानिसलाई केवल मानिसहरू वरिपरि भएर मात्र पुग्दैन रहेछ, उसले माया, अपनत्व र न्यानोपन महसुस पनि गर्नुपर्दो रहेछ।
सायद यही कारणले गर्दा ‘मुर्दाघर’ मेरो लागि यो पुस्तकको सबैभन्दा सम्झनलायक कथा बनेको छ ।
यी सबै कथाहरू पढ्दै जाँदा मैले के महशुस गरे भने हामी प्रत्येक मानिस आफु भित्र एउटा छुट्टै संसार बोकेर हिँडिरहेका हुन्छौँ। बाहिरबाट सामान्य देखिने मानिसभित्र पनि कति ठूलो संघर्ष, कति धेरै प्रश्न र कति धेरै नबोलेका कुराहरू हुन सक्छन्।
सायद यही नै ‘मौन कोलाहल’ हो ।
बाहिरबाट हामी मौन हुन्छौँ, तर भित्र भने ठूलो आवाज चलिरहेको हुन्छ।
विवेक ओझाको लेखनमा मलाई सबैभन्दा विशेष लागेको कुरा यही हो कि उहाँले पात्रहरूको बाहिरी जीवन मात्र देखाउनुहुन्न, उनीहरूको मनभित्र पस्ने प्रयास गर्नुहुन्छ। र त्यो मन केवल मानिससँग जोडिएको हुँदैन; कहिलेकाहीँ सम्बन्ध, वस्तु, प्रकृति, स्मृति र कल्पनासँग समेत जोडिएको हुन्छ।
त्यसैले ‘मौन कोलाहल’ पढ्नु मेरा लागि केवल नौवटा कथा पढ्नु थिएन।
यो त फरक फरक मानिसका मनभित्र लुकेका संसारहरू हेर्ने अनुभव थियो।
अन्त्यमा , हामीले मानिसको व्यवहार मात्र देख्छौँ, तर त्यो व्यवहारको पछाडि लुकेको कथा देख्दैनौँ। सायद हरेक मानिसभित्र एउटा यस्तो ‘मौन कोलाहल’ हुन्छ,
जसको आवाज उसले मात्र सुन्छ।
Comments (0)
No comments yet — be the first to say something.