नोटः कथा नपढेको ले कथाबारे धेरै कुरा थाहा पाउन सक्छन् त्यसैले यदि पहिला कथा पढ्ने मन भए यो समिक्षा पछि पढ्दा राम्रो । Spoilers Alearts.
तिहारको छेको पारेर केहि किताब किनेको थिंए । सानो उपन्यास मगनि मरिक पढ्न हप्तै लाग्यो। मगनी मरिकको अन्तिम पानामा ‘एउटा अमूर्त कोलाज…!’ पढेर किताब बन्द गरेँ। धेरैबेर म बाग्मतीको किनारमा उभिएको मगनीजस्तै भएँ । अन्त्य मन परेन । सायद मैले लेखेको भए अलिक बेग्लै खालको अन्त्य दिन्थे भनेर सोचें, यस्तो सोच्नुको पछाडि अन्त्य चित्त नबुझेरै हो । धुवाँ आकाशतिर गइरहेको थियो, नदी आफ्नै गतिमा बगिरहेको थियो, र मेरो दिमागमा अनुत्तरित प्रश्नहरूको भुमरी घुमिरहेको थियो । समग्रमा कथा राम्रै हो ।
यसरि सुरु गरुं । यो उपन्यास सतहमा एउटा सरल घटनाको कथा हो । सप्तरीको सौठा गाउँको डोम बस्तीमा बस्ने २१ वर्षे मगनी मरिकका हातमा एक बिहान सरकारी खाम आइपुग्छ । खाम उसका बाबु जोगिन्दरका नाममा आएको हो, जो २९ दिनअघि नै बितिसकेका छन् । भित्रको पत्रले साउदी अरबको जेद्दामा भेटिएको लावारिस लासलाई ‘मगनी मरिक’ भनेर पुष्टि गर्छ । जिउँदो मान्छेले आफ्नै मृत्युको सूचना पढ्छ । त्यसपछि सुरु हुन्छ आफू मरेको छैन भनेर प्रमाणित गर्ने उसको यात्रा । गाविसको झ्यालदेखि काठमाडौंको कन्सुलर कार्यालयसम्म, नक्कली सहीदेखि साथीहरूको औँठाछापसम्म, कथा यस्तै यस्तै हो । पहिले पनि यस्तो कथा नेपालि बजारमा नलेखिएका भने होईनन् ।
तर मलाई यो किताब घटनाको कथाभन्दा बढी एउटा दार्शनिक प्रश्नको उपन्यास लाग्यो:
अस्तित्व कसले प्रमाणित गर्छ? शरीरले कि कागजले?
उपन्यासको तेस्रो अध्यायमा फुलनियाले मगनीको शरीरमा चिमोट्छे । मगनी भन्छ, ‘जिन्दा छियै वोइसँ दुखेलै।’ यो वाक्य पढ्दा मलाई देकार्त सम्झना आयो । यसरि साना तिना किताब पढ्दा देकार्त याद आउनु मेरो लागि नौलो होईन र आउनु हुँदैनथियो सायद । देकार्तले ‘म सोच्छु, त्यसैले म छु’ भनेर अस्तित्वलाई चेतनामा उभ्याएका थिए । मगनीले अस्तित्वलाई पीडामा उभ्याउँछ । तर राज्यका लागि सोच्नु र दुख्नु दुवै अपर्याप्त छन्, यहाँ । काठमाडौंका कर्मचारीले सिधै भन्छन्, ‘तपाईं ज्युँदै रहेको कुरा मैले देखेर मात्रै हुँदैन। सरकारी कागजमा पनि तपाईं नमरेको स्पष्टसँग लेखिनुपर्छ।’
यहाँ उपन्यासले आधुनिक राज्यको एउटा भयावह सत्य उदांगो पार्छ, पछिल्ला हप्ता पढेका केहि किताब, जस्तै मध्यको उज्यालो, ब्लुम, रातो अभिलेख र लाटो क्यानभास ले झै निरासै चाहिं बनाएन । राज्यका लागि यथार्थ भनेको अभिलेख हो । दार्शनिक माउरिजियो फेरारिसले ‘डकुमेन्टालिटी’ भनेर व्याख्या गरेको सामाजिक यथार्थ यहाँ एउटा डोम युवाको जीवनमा मूर्त हुन्छ, र त्यति चांहि मैले देखे पढ्दै जाँदा । मगनीसँग चार प्रमाण छन्: पीडा, समुदायको पहिचान, आफ्नै उपस्थिति, र ‘मरेको भए भूत भइसक्थें, भूतले कागज बोकेर काठमाडौं आउँथ्यो र?’ भन्ने लोकतर्क । तर कुनै पनि प्रमाणले कागजलाई जित्न सक्दैन । कागजलाई अर्को कागजले मात्र काट्छ । कथा यहि अर्को कागज खोज्ने कथा हो ।
सबैभन्दा गहिरो विडम्बना ‘साक्षी’ अध्यायमा आउँछ । जिउँदो छु भन्ने प्रमाण बनाउन मगनीले नक्कली सही भएको गाविसको पत्र बोक्नुपर्छ । मृत्युको पत्र सक्कली थियो तर झुटो । जीवनको पत्र नक्कली छ तर साँचो । कमलैयाले भन्छ, ‘हीरालाई हीराले काट्छ, झुटलाई झुटले काट्छ अनि सत्य आउँछ ।’ मलाई यो वाक्य उपन्यास भरि कै नैतिक केन्द्रबिन्दु लाग्यो । सत्यसम्म पुग्ने बाटो पनि झुटबाटै हिँड्नुपर्ने समाजमा इमानदार मान्छेको ‘औकात’ कति हुन्छ? मैले विच विचमा आफैलाई प्रश्नोत्तर भने गरिरहे । यो आफुले भोगेको, आम मानिसले भोग्ने प्रश्न नै हो ।
म पढ्दा प्राय जसो नोट पनि संग संगै बनाउदै जान्छु यसले कथा पढ्दा को आन्नद खोस्छ तर म केबल पढनको लागि पढ्दिन त्यसैले मेरो लागि यहि सहि तरिका हुन्छ । पढ्दै जाँदा मेरो मनमा रुसी साहित्य बारम्बार आइरह्यो । सबैभन्दा पहिले गोगोलको मृत आत्माहरू । गोगोलको चिचिकोभ सरकारी जनगणनामा अझै जिउँदै दर्ता भएका तर वास्तवमा मरिसकेका भूदासहरू किन्दै हिँड्छ । ती मृत आत्माहरू कागजमा जिउँदा छन् । सापकोटाको संसार ठीक उल्टो पाएं । यहाँ जिउँदो मान्छे कागजमा मरेको छ । अनि चिचिकोभको भूमिकामा मैनेजर उभिएको छ, जसले यही मृत्युलाई बिमा र क्षतिपूर्तिको पुँजीमा बदल्न खोज्छ ।
‘सरकारले नै सबै मिलाइदियो, हामी त अलिकति टीका मात्र लगाउँदैछौं’
भन्ने माथिको उसको यो तर्कमा गोगोलको व्यङ्ग्य नेपाली माटोमा पुनर्जन्म लिए जस्तो भान भयो । कतिको हो यो अरु पढ्नेले बुझ्लान् यो मेरो समस्या होईन ।
त्यस्तै मगनीमा मैले गोगोलको ओभरकोटका अकाकी अकाकियेभिचको वंशज देखेँ । म यस्तो कसरि देख्छु आफैं बुझ्दिन । रुसी साहित्यमा भनिन्छ, ‘हामी सबै गोगोलको ओभरकोटबाट निस्केका हौं।’ ‘सानो मान्छे’ अर्थात् राज्यको विशाल यन्त्रमा अदृश्य, निरीह व्यक्तिको परम्परा । मगनी पनि त्यही परम्पराको पात्र हो, तर अकाकीभन्दा अझ तल । अकाकी कम्तीमा लेखपढ गर्ने प्रतिलिपिकार थियो । मगनी आफ्नो नाम पढ्न सक्ने बेलामा कक्षा तीनबाटै स्कुल छाड्छ, किनभने ‘डोमको छोरालाई योभन्दा बढी चाहिँदैन ।’ राज्यले उसलाई आफ्नो नाम पढ्न पुग्ने साक्षरता दियो, तर आफ्नैबारे राज्यले के भन्दैछ भनेर बुझ्न पुग्ने साक्षरता दिएन । पढ्दा थाहा हुन्छ यो उपन्यासको पहिलो अध्यायमै रोपिएको सबैभन्दा तीखो बीज हो ।
तर मलाई सबैभन्दा बढी छोएको सम्बन्ध हो जोगिन्दर र मगनीको, अर्थात् बाबु र छोराको । पढिरहँदा तुर्गनेभको बाबु र छोरा बारम्बार मनमा आइरह्यो पनि । यति महान साहित्यलाई यहाँ तुलना गर्न त मिल्दैन तर पढ्दै गर्दा कता कता महसुस भयो ।
तुर्गनेभको उपन्यासमा पुस्ताबीचको द्वन्द्व विचारको द्वन्द्व हो । बाजारोभको शून्यवाद पुरानो पुस्ताका आदर्शसँग ठोक्किन्छ । बुबाहरू छोरालाई बुझ्न सक्दैनन्, छोराहरू बुबालाई सम्मान गर्न सक्दैनन् । तर मगनी मरिकमा पुस्ताबीच कुनै वैचारिक द्वन्द्व छैन । यहाँ बाबु र छोरा एउटै निरीहताका दुई पुस्ता हुन् । सायद यहि निरिहताले मलाई अलि छोयो कि! जोगिन्दरले बुढेसकालमा जमिनदारको खुट्टा समातेर नागरिकता पायो । मगनीले जीवनभर ‘हस् मालिक’ भनेर दुवै हात जोडिरह्यो । फरक के त? उनीहरूबीचको खाडल विचारको होइन, आशाको हो ।
लेख्दै जाँदा हेरेक अध्याय लाई समिक्षा गरेर कथा पहिले नै भनिदिए जस्तो हुने तर ‘पासपोर्ट’ अध्यायको फ्ल्यासब्याक मलाई उपन्यासकै सबैभन्दा मार्मिक अंश लाग्यो । जोगिन्दरले छोरालाई भन्छन्, ‘म जस्तो सधैं नाला सफा गरेर पनि हुन्न, बड्का नेताको शरण परेर पनि हुन्न । विदेश जा ।’ अनि सुँगुरका पाठा बेचेर, बड्का नेतासँग थप ऋण लिएर, एक कर्मचारीलाई चिया-चुरोटको खर्च दिएर सोह्र वर्षे छोरालाई अठार वर्षको नागरिकता र पासपोर्ट बनाइदिन्छन् । यो पिताको प्रेम हो, जातको नालाबाट छोरालाई निकाल्ने एउटा गरिब बाबुको सपना । तर त्यही प्रेमले बनाएको पासपोर्ट दलालको हातबाट अर्कै मान्छेको फोटो टाँसिएर साउदी पुग्छ, र अन्ततः छोराको मृत्युको कागज बनेर फर्किन्छ । समग्रमा कथा यति नै हो । अनि खबर पनि छोराको हातमा होइन, बाबुकै नाममा आउँछ, त्यो पनि बाबु बितेको २९ दिनपछि ।
तुर्गनेभमा बाजारोभ एउटा किसानको लासको चिरफार गर्दा औँला काटिएर टाइफसबाट मर्छ । उसको मृत्यु एउटा अपरिचित लाससँगको सम्पर्कबाट आउँछ अनि मगनीको ‘मृत्यु’ पनि जेद्दाको एउटा अपरिचित लासबाटै आउँछ । कथा कति मिलेको होईन त! तुर्गनेभको उपन्यास बाजारोभको चिहानमा आँसु झार्दै गरेका बुढा बाबुआमा र प्रकृतिको अनन्त, उदासीन शान्तिको चित्रमा टुंगिन्छ । सापकोटाको उपन्यास पनि पशुपतिको घाटमा अपरिचितको चितामा टुंगिन्छ, जहाँ ‘बाग्मती बग्दै थियो आफ्नै गतिमा ।’ यहाँ नेर मैले अन्त्य लाई फेर्न सक्ने भए त्यो अपरिचित लासलाई नाम दिन्थे, मगनि मरिक भनेर, यसले पाठकको लागि रोमाञ्च र दुबिधा दुबै बढाईदिने थियो । दुवै उपन्यासमा मानवीय पीडाको अगाडि प्रकृति मौन छ । तर भिन्नता के छ भने तुर्गनेभका पात्रहरूले कम्तीमा आफ्नो शोक आफैं मनाउन पाउँछन् । विचरा मगनीको शोक कागजको फैसलामा थुनिन्छ ।
यो सम्बन्धलाई अझ गहिरो बनाउने कुरा हो दोस्रो पुस्ताको हानि । जोगिन्दरले छोरालाई जोगाउन खोज्दा छोराको नाम मर्यो । मगनीले फुलनियाको ‘नक्कली विधवा’ बन्नबाट जोगाउन काठमाडौं भाग्दा पेटको सक्कली बच्चा गुम्यो । ‘मेरो नक्कली मृत्युको कागजले फुलनियाको पेटमा हुर्किरहेको सक्कली बच्चाको ज्यान लिइदियो ।’ यो वाक्य पढेपछि केहीबेर म अघि बढ्न सकिनँ । यो उपन्यासमा बाबुहरूको प्रेम छोराहरूका लागि जाल बन्छ, अनि छोराहरू कहिल्यै बाबु बन्न पाउँदैनन् । तुर्गनेभको शीर्षक यहाँ एउटा दुःखद प्रश्न बनेर उभिन्छ: जहाँ राज्यले छोरालाई नै मारिदिन्छ, त्यहाँ बाबु र छोराको कथा कसरी लेख्ने?
म लेखकलाई कुनै हदसम्म कौशलनै मान्छु । सापकोटाको शिल्पगत कौशल मलाई एउटा दोहोरिने ढाँचामा राम्रो नै लाग्यो । कलरु काकाले ऋणको ‘सैतानी ब्याज’ले इनारमा हामफाल्दा गाउँले भन्छन्, जलदेवीले निल्यो । मैनेजरको इँटाभट्टाको चिम्नी ढल्दा भगवानको सजाय भन्छन् । बब्लुको हत्यालाई हनुमानको वज्र भन्छन् । कति निरिह प्राणिहरु! मिथक हरेकपटक राजनीति र अर्थतन्त्रलाई ढाक्ने पर्दा बन्छ, र देवताहरू कहिले मैनेजरलाई, कहिले बब्लुलाई सजाय दिन्छन् । मिथक कसैको पक्षमा छैन । यो केवल उपलब्ध कथा हो, जसले शक्तिको वास्तविक संरचनालाई अदृश्य राख्छ मगनि मरिक भरिनै र सायद हामि मानिसको सबै खाले चोलामा पनि ।
जातीय यथार्थको चित्रण पनि कतै भाषणमा झर्दैन । बाहुनको भोजबाट फुलनियाले ल्याएको जूठो मगनी प्लास्टिकबाटै खान्छ, र बचेको अर्को दिन सुँगुरलाई दिन्छ । चियापसलमा जात नसोधी कप थमाइँदा मगनीलाई लाग्छ–
‘बाफरे! मेरो टोलमा यस्तो कहाँ देख्न पाइन्छ!’
तर बसमा मनमायालाई नाम बताउँदा ऊ थर भन्नुअघि टाउको झुकाउँछ । सहरले उसको जात बिर्सिदियो, तर उसले आफ्नो जात बिर्सन सकेन । यस्ता सूक्ष्म दृश्यहरू नै उपन्यासका सबैभन्दा बलिया अंश हुन् मेरा लागि ।
तर इमानदार पाठकका रूपमा केही कमजोरी पनि औंल्याउनुपर्ने हुन्छ जसले मलाई कुशल समिक्षक बनाउला कि! वा ? जेसुकै होस् ।
पहिलो, सापकोटाभित्रको पत्रकार कहिलेकाहीँ उपन्यासकारलाई उछिन्दै उम्कन खोज्दो रहेछ । कथावाचक बारम्बार दृश्य देखाउनुको सट्टा निष्कर्ष सुनाउँदै हिड्छ । ‘राज्यको नक्कली काम त्रुटि, नागरिकको नक्कली काम फौजदारी कसुर’ भन्ने अनुच्छेदको तर्क ठीक छ, तर दृश्यले पहिल्यै भनिसकेको कुरालाई कथावाचकले फेरि व्याख्या गर्दा पाठकको आफ्नै खोजको आनन्द खोसिन्छ, मेरो पाठकिय खुसि यहिंनेर खोसियो ।
दोस्रो, मैले पात्रहरूको भित्री संसार असमान पांए । मैनेजर एउटा प्रभावकारी खलपात्र हो, तर ऊ प्रायः प्रकार मात्र रहन्छ, दस्तोएभ्स्कीका खलपात्रहरूमा जस्तो आत्मसंघर्ष ऊमा कतै देखिँदैन, हुनत मैले नेपालि साहित्यमा रसियन स्वाद खोजेर कता भेट्छु र ! फुलनिया सबैभन्दा ठूलो क्षति भोग्ने पात्र हो, तर उसको शोक पाठकले (यदि कसैले यति ईमानदार भएर पढेको भए) प्रायः बाहिरबाट मात्र देख्छन् । उसको भित्री आवाज अझ सुनिनुपर्थ्यो । खोई त्यो अावाज!
तेस्रो, अन्त्यमा घाटमा मनमायाजस्ती देखिने महिलाको आगमन कथाका धागा जोड्ने संयोग अलि सुविधाजनक लाग्यो मलाई, छोएन त्यसले । लेखकले यसलाई ‘अमूर्त कोलाज’ भनेर खुला छाडेका छन्, जुन सचेत रोजाइ हो र उपसंहारमा ‘मगनी र फुलनियाहरूको जीवन उस्तै छ’ भन्ने उनको भनाइसँग मेल खान्छ तर केही पाठकलाई यो खुलापन उत्तर टार्ने तरिकाजस्तो पनि लाग्न सक्छ, कमसेकम मेरो लागि चाहिं त्यहि भयो ।
यी कमजोरीहरूका बाबजुद मैथिली संवाद र पादटिप्पणीले भाषिक यथार्थलाई जोगाएका छन् । टोलको आवाजलाई मानक नेपालीमा समतल नपारी आफ्नै लयमा बोल्न दिनु यो उपन्यासको ठूलो उपलब्धि हो जस्तो मलाई लाग्छ ।
पछिल्लो समय नेपाली साहित्यमा धेरै किताब अरूको शैलीको खोल ओढेर लेखेको भेटेको छु तर मगनी मरिक भने आफ्नै माटोबाट उम्रिएको किताब हो जस्तो लाग्यो, मधेसका देहातमा लेखकले रिपोर्टिङ गर्दा भेटेका वास्तविक अनुहारहरूबाट । यो पूर्ण उपन्यास होइन, तर आवश्यक उपन्यास चाहिं हो ।
के मगनी आफ्ना निम्ति न्याय खोज्न सक्ने पात्र हो त?
उपन्यासको उत्तर कठोर छ । मगनीलाई न्याय उसको संघर्षले होइन, कर्मचारीको रातो कलम र एउटा संयोगले दिन्छ र यहि देखियो पनि । न्यायका लागि लड्ने सबै, अर्थात् कलरु, बब्लु र भोला मास्टर, मरिसकेका छन् । मगनी बाँच्छ, तर ऊ घाटमा उभिएर आफैंसँग सोध्छ, ‘के म ज्युँदो प्रमाणित भएको खुसी मनाइरहेको छु?’ उसको जीवन फिर्ता आउनु भनेको अर्को कसैको मृत्यु पुष्टि हुनु हो ।
तुर्गनेभका बाबुआमा छोराको चिहानमा फर्किरहन्छन् । सापकोटाका पात्रहरूसँग फर्किने चिहानसम्म छैन, केवल एउटा फाइल छ, जसको बाहिर कालो मार्करले लेखिएको छ: मगनी मरिक।


Comments (0)
No comments yet — be the first to say something.